अभिनेता अनमोल केसी आज चैत १७ गते आफ्नो जन्मदिन मनाउँदैछन् । विक्रम सम्बत २०५१ साल चैत १७ गते जन्मिएका अभिनेता केसी नेपाली फिल्मका स्थापित अभिनेता बनिसकेका छन् ।
पछिल्लो समयका हिट हिरो हुन् अनमोल केसी । वर्तमान समयमा नेपाली फिल्ममा उनको डिमान्ड उच्च छ । अनमोललाई लिएर फिल्म निर्माणका लागि ५० लाखसम्म पारिश्रमिक दिन तयार छन् निर्माता÷निर्देशक । तर पछिल्लो समय भने अनमोलको फिल्मले व्यवसायिक असफलता प्राप्त गर्न छाडेको छ । उनलाई लिएर फिल्म निर्माण गर्न तयार निर्माता सोच्न थालेका छन् । आमा सुस्मिता बमजन र बाबु भुवन केसीका छोरा अनमोलले आफ्नो अभिनय करियरमा थुप्रै सफल फिल्म दिइसकेका छन् । आफ्नै बुवाको फिल्म ‘सुपरस्टार’ मा बाल कलाकार तथा ‘साथी म तिम्रो’ मा अतिथि कलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका अनमोलले एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
उनी अगाडि भिन्न भूमिकामा देखिए पनि, दर्शकका लागि सुपरस्टार, मेघास्टारको उपाधि पाए पनि अनमोलको जीवनशैली भने साधारण छ । उनलाई होहल्ला, भिडभाड, नेम–फेमभन्दा पनि शान्ति वातावरण मनपर्छ, अध्यात्मतर्फ उनको रुचि छ । यसैबीच, आज जन्मदिनको विशेष अवसर पारेर चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका अनमोलका बुवा भुवन केसीले फेसबुकमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन् । भुवन केसीले कविताको शैलीमा दिएको शुभकामना रोचक छ । उनले लेखेका छन्:
अनमोल छौ तिमी, बरदान हौ तिमी,
भगवानले दिएको आशीर्वाद हौ तिमी,
तिमी मेरो प्यार हौ उमङ्ग हौ,
मेरो विश्वास अनि गर्व हौ
तिमी सधैँ यससी नै हाँसिरहानु
करोडौँ मान्छेको मनमा माया गाँसिरहनु
जिन्दगीमा सबै सम्बन्ध टुटे पनि
समयले सबैको साथ छुटे पनि
जन्म–जन्मान्तर म तिम्रो साथमा हुन्छु
संसा जित्ने साहस राख्नु छोरा
म तिम्रो हिम्मत अनि हौसलामा सङ्गै हुन्छु
जन्मदिनको लाखौँ लाख शुभकामना छोरा
अनमोललाई सानो उमेरमा अभिनय भन्दा पनि सङ्गीतमा अधिक रुचि थियो । त्यसैले विद्यालय मै रहँदा उनले साथीहरू सँग मिलेर ब्यान्ड नै स्थापना गरेका थिए । सोही ब्यान्ड मार्फत उनले अभ्यास र पर्फर्मेन्स गर्ने गर्थे । विद्यालयमा हुने कार्यक्रममा उनी गीत गाउँथे । उनले राम्रो गितार बजाउने उनका निकट व्यक्तिहरू बताउने गर्छन् । बुटवलमा एक कार्यक्रममा उनले साङ्गीतिक प्रस्तुति समेत दिएका छन् ।