अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन ।एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको फिल्ममा प्रदीप र पूर्णिमा श्रेष्ठलाई कलाकारको रुपमा उल्लेख गरिएको छ । गत फागुन ४ गते प्रदीपले बोर्डमा फिल्म दर्ता गरेका हुन् । शीर्षकअनुसार यो फिल्म ‘मेनस्ट्रिम’ र ‘कमर्सियल’भन्दा मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको बुझिन्छ ।प्रदीपको रुचि पछिल्लो समय सामाजिक कथावस्तुका फिल्ममा देखिएको छ । ‘प्रकाश’बाट उनले यसैसाता नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए । उनी दिनेश राउतले निर्देशन गर्ने शहीद गंगालालको बायोपिकमा पनि देखिंदैछन् । पछिल्लो समय उनी हिंडेर अमेरिका जाने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को कार्यशालामा व्यस्त छन् ।