कलाकार मनोज गजुरेलले पछिल्लो समय हास्यव्यङ्ग्यको दुरुपयोग भइरहेको बताए । सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति भित्रिएकोले हास्यव्यङ्ग्यमा पनि जथाभाबी शब्द प्रयोग हुन थालेको उनको भनाइ छ । ‘अहिले सामाजिक संजालको ठुलो पौँच छ । त्यहाँ कानुनी नियन्त्रण छैन, छरपस्ट छ’ गजुरेलले भने ‘गीतसङ्गीत जस्तै हास्यव्यङ्ग्य पनि भाइरल हुन खोज्नेले यसको दुरुपयोग गरिरहेका छन् ।’ यो पछिल्लो समयको च्यालेन्जको विषय भएको यसलाई घटाउनु जरुरी रहेको रहेको उनको धारणा छ ।हालै राजधानीमा सम्पन्न निफमा ‘हास्य व्यङ्यले हौसिएको नेपाली सिनेमा’ विषयक बहसमा बोल्दै गजुरेलले हास्यव्यङ्ग्य विद्या नभएर सर्वअंग भएको चर्चा गरे ।‘राजनीतिक, आर्थिक, सांस्कृतिक र समाजका हरेक पक्ष हास्यव्यङ्ग्य मार्फत हामी बोल्छौ’, गजुरेलले थपे ‘हास्यव्यङ्ग्य र पत्रकारिता उस्तै उस्तै हो । यो पनि राज्यको एउटा अङ्ग हो । सबै पक्ष समेटिने भएकोले यसलाई अङ्ग मात्र होइन सर्वअंग भन्नुपर्छ ।’उनको भनाइ छ ।