राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो ।
विभागमा हुने भिड अझै घट्न नसकेको गुनासो बढ्दै गएको छ। यता सामान्य प्रशासन मन्त्रालयले काम छिटोछरितोका लागि भन्दै राहदानी विभाग तथा कन्सुलर विभागको कामकाजमा १८ जना कम्प्युटर अपरेटरहरुलाई सरुवा गरेर खटाईए पनि हालसम्म ४ जना मात्र हाजिर हुन गएका छन्। अहिले पुन: सामान्य प्रशासन मन्त्रालयले खटाईएको निकायमा यथासिघ्र हाजिर हुन जाने व्यवस्था मिलाउन मातहतका निकायमा अनुरोध गरेको छ । विभागमा राहदानी लिन आउनेका कारण त्यहाँको भिड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भिड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन। उनले भनिन्, 'विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।'सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन/चार वटा अनौपचारिक कार्ययोजना बनाएको उनले बताएकि छिन ।