मध्य नेपाल

पल शाहलाई साँढे दुइ वर्ष जेल, १० लाख क्षतिपुर्ती तिर्नुपर्ने

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । मंगलवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीको मुद्धामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । पीडित र जाहेरवालाले बयान फेरेका कारण पलले जबर्जस्ती करणीको मुद्धामा सफाइ पाएका हुन् । त्यस्तै, अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश जारी गरेको छ । अदालतले अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराएको छ । शाह विगत ७ महिनादेखि तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । २ वर्ष ६ महिनाको कैद सजायमा ७ महिनाको अवधि जोडिने छैन । गत फागुनमा एक नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । 

जबर्जस्ती करणीको जाहेरी परेपछि पल शाह फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । पछि तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई पल शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका पिताले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नै नभएको रैछ’ भन्दै आफ्नो बयान फेरेका थिए । पलमाथि लागेको बलात्कारको मुद्धामा अब तनहुँ जिल्ला अदालतबाट फैसला आउन बाँकी छ । नवलपुर जिल्ला अदालतमा मंगलवार पल शाहको तर्फबाट ६ जना नीजि कानुन व्यवसायीहरुले बहस गरेका थिए भने सरकारी वकिल कार्यालयको तर्फबाट तीन जनाले बहस गरे । मुद्दाको अन्तिम सुनुवाइमा जाहेरवालाका भने वकिल बहसमा सहभागी भएनन् । पीडित र जाहेरवालाले बयान फेरेका कारण पीडितको पक्षमा कुनै वकिलले बहस नगरेका हुन् । 

  


TOP