भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीतले यतिबेला सांगीतिक बजारमा धूम मच्चाइरहेको छ । यूट्युबमा आक्रामक भ्यूज मिलेको गीतमाथि लाखौंको संख्यामा टिकटक बनेका छन् । यो गीतले फिल्मको हाइप बढाउन ठूलो मद्दत गरेको छ । यसबीच, निर्माण टिमले अर्को गीत सार्वजनिक गरेको छ ।बुधवार ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘टल टल टलक्कै’ बोलको लोक लयको गीतमा अञ्जु पन्त र सरेश लामाको युगल स्वर रहेको छ भने एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना छ । गीतमा अर्जुन पोखरेलको संगीत छ ।
गीतको भिडिओ कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। भीमनिधि तिवारीको कृति 'झिँगेदाउ'मा आधारित फिल्मले पारिवारिक झमेलाको कथा भन्छ। प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल, कुशलसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायत कलाकारको अभिनय रहेको छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको ब्यानरमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ। विष्णु घिमिरे (कल्पित)ले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। यो फिल्म भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ।