मध्य नेपाल

नेपालमा कोभिड : १७ दिनमा १६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ । तीमध्ये १२ जना कोरोनाविरुद्धको एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका छन् । मृतक सबैजसो दीर्घरोगाी भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाई छ । 

कोरोना महामारी सुरु भएयता साढे दुई वर्षमा देशभर ११ हजार नौ सय ६८ को मृत्यु भएको छ । पछिल्ला दिन संक्रमण बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमित पनि बढिरहेको तथ्यांक छ । पाँच हजार दुई सय ७५ सक्रिय संक्रमितमा एक सय ५८ जना अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये ४३ आइसियू र दुईजना भेन्टिलेटरमा छन् । आइसियू र भेन्टिलेटरमा जाने संक्रमित क्रमशः बढिरहेको प्रवक्ता अधिकारीको भनाई छ । खोपमा राम्रो प्रगति हुँदाहुँदै कोभिडले ज्यान लिइरहँदा पछिल्ला दिनमा गम्भीर सङ्क्रमणमा पर्ने मानिसमध्ये धेरैजसो खोप नलगाइसकेका वा अपूर्ण मात्रा लगाएका वा बढी उमेर र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


TOP