एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरेका छन् । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी साबित भएको टमाटाको भनाई छ । अबका दिनमा थप मिहिनेत गरेर टोलीलाई बलियो बनाउने उनको प्रतिबद्धता छ ।
नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले वर्षाका कारण युएईसँगको खेल रद्द हुँदा धेरै घाटा लागेको बताइन् । युएइजस्तो बलियो टोलीलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरूले जित्ने अपेक्षा गरेको तर वर्षाले खेल्न नपाएपछि बाहिरिनुपरेको क्षेत्रीले बताइन् । समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान भएकाले नेपाल फाइनल प्रवेश गरेको भए एसिया कपमा छनौट हुन्थ्यो । तर नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भएको हो ।