निर्देशक विकासराज आचार्य कोरोना महामारीभन्दा अगावैदेखि फिल्म ‘नाइँ नभन्नू ल ६’को तयारीमा जुटेका थिए । उनले लेखक सामिप्यराज तिमल्सिनासँग बसेर फिल्मको स्क्रिप्ट पनि ‘लक’ गरिसकेका छन् । फिल्मका लागि अभिनेत्री आँचल शर्मा र उनको अपोजिटमा नव-नायक आर्शिवाद क्षेत्रीलाई फाइनल गरिएको छ । तर, विभिन्न कारणले फिल्म छायांकनमा जान सकेको छैन । ‘नाइँ नभन्नू ल’को दोस्रो सिरिजदेखि बाल कलाकारको रुपमा नछुटेका अनुभव रेग्मी छैटौं सिरिजमा भने देखिने छैनन् । हर्लक्कै बढेका कारण उनलाई अब बाल कलाकार भएर अभिनय गर्न नसुहाउने भएकाले निर्देशक आचार्य नयाँ अनुहार खोजिरहेका छन् । यसका लागि उनले अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईटेलका जेठा छोरालाई लिने प्रयास गरेको जानकारी प्राप्त रहेको छ ।
निर्देशक आचार्यले निखिल र सञ्चितासँग केही चरण कुराकानी गरिसकेका छन् । तर, निखिल अहिल्यै छोरालाई फिल्ममा ल्याउन उत्ति सकारात्मक नभए पनि सञ्चिताको तर्फबाट ‘ग्रिन सिग्नल’ मिलेको स्रोत बताउँछ । निखिल र सञ्चिताले छोरा आर्थवलाई ठूलो भएपछि फिल्ममा ल्याउने योजना बनाएको भएपनि अहिले नै फिल्ममा काम गराउने विषयमा दोधार देखिएको स्रोतको भनाई छ । निखिल र सञ्चिताले छोरालाई फिल्म खेलाउन तयार भए ‘नाइँ नभन्नू ल ६’मा आर्थवले आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा अभिनय गर्नेछन् । सञ्चिताले यो फिल्मको तेस्रो सिरिजमा अभिनय गरेकी थिइन् । अनुभव रेग्मीले ‘नाइँ नभन्नू ल’ सिरिजमा अभिनय गरेर ठूलो लोकप्रियता हासिल गरेका थिए । यो फिल्मको सिरिजमा बाल प्रेमको कथालाई विशेष प्राथमिकता दिने गरिएको छ ।