मध्य नेपाल

सलमानले प्रहरीलाई भने ‘मलाई कसैले धम्की दिएको छैन, कुनै लरेन्स वा गोल्डीलाई चिन्दिन’

बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार सलमानले पुलिसलाई दिएको बयानमा धम्की आएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले धम्की दिएको छैन ।’ बान्द्रा प्रहरीलाई बयान दिएपछि सलमान आफ्नो आगामी फिल्मको सुटिङका ​​लागि हैदरावाद प्रस्थान गरेका छन् । यहाँ उनको २५ दिनको तालिका छ । बडीगार्ड शेरा र उनको टोली सलमान हैदरावाद पुग्नुअघि नै पुगिसकेका छन् । 

रिपोर्टका अनुसार बान्द्रा प्रहरीले सलमानलाई ग्याङ्स्टर गोल्डी ब्रार र लरेन्सको बारेमा सोधेको थियो । जसमा सलमानले भने, ‘मलाई धम्की दिने पत्रको विषयमा कसैमाथि शंका छैन । आजकल मेरो कसैसँग दुश्मनी छैन । मैले सन् २०१८ मा लरेन्सको बारेमा सुनेको थिएँ किनभने त्यसतिबेला उनले मलाई धम्की दिएका थिए । तर म गोल्डी र लरेन्सलाई चिन्दिनँ ।’ धम्कीको बारेमा कुरा गर्दै उनले प्रहरीलाई भने, ‘हालको दिनमा मेरो कसैसँग झगडा वा बहस भएको छैन । मलाई कुनै धम्कीयुक्त फोन पनि आएको छैन । चिठ्ठी पनि मैले होइन, मेरो बुवाले पाउनुभएको हो । त्यो पनि बिहान घुम्न निस्कँदा ।’

मुम्बई प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ । ८ वटा टोली यस विषयमा निरन्तर अनुसन्धानमा जुटेका छन् । बान्द्रा क्षेत्रमा जडान गरिएका २०० सीसीटीभीको छानबिनपछि केही संदिग्धहरू फेला परेका छन्, तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । अनुसन्धान भइरहेको सीसीटीभी फुटेजमा ग्यालेक्सी अपार्टमेन्टमा जडान गरिएका क्यामेराहरू पनि समावेश छन् । मुम्बई प्रहरीले पनि सलमान खानलाई दिएको धम्की पत्रको अन्त्यमा जीबी र एलबी लेखिएको पुष्टि गरेको छ । यसको मतलब गोल्डी बरार र लरेन्स बिश्नोई हुन सक्छ, तर यो पत्र साँच्चै लरेन्स गिरोहसँग सम्बन्धित छ वा कसैले उट्पट्याङ गरेको हो, त्यो अझै स्पष्ट छैन ।



TOP