पहिलाे पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेकाे नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्राे हार व्यहोरेको छ । बिहीबार भएकाे खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयाे । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलाे खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएकाे थियाे । दाेस्राे खेलमा नेपाल १ रनले पराजित भएकाे थियाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएकाे थियाे । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनाेले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनकाे साझेदारी नै युगान्डाकाे जितकाे आधार बन्याे ।
नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक-एक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बल खेलेकी उनले ५ चाैका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १५ बल खेल्दै २ चाैका मद्दतमा अविजित १८ रन जाेडिन् । अर्की ओपनर बिन्दु रावल ४ रनमा बोल्ड भइन् । तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन् । युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले २/२ विकेट लिए ।