अहिले बजारमा केही दिनमै गोलभेंडा र प्याजको मूल्य डेढ गुणा बढेको छ । बजारमा जुनसुकै तरकारी किलोको सयदेखि दुई सय रुपैयाँसम्म पुगिसकेको छ त्यस्तै स्याउ लगायतका फलफूलहरू पनि त्यति नै महँगिएका छन् । चाडबाडको मौका छोपी व्यापारी–व्यवसायीहरूले मूल्य बढाएर उपभोक्तालाई दु:ख दिएका छन् । यो बेला उपभोक्ताले जसरी पनि सामान किन्छन् भन्ने व्यापारीलाई थाहा हुन्छ । कतिपयले त नयाँ लुगा पनि यही बेला मात्रै किन्ने गर्छन् । यसकै फाइदा उठाउँदै व्यापारीहरूले सामानको भाउ बढाएर बेच्छन् ।
चाडबाड तथा अन्य समय पनि भान्सामा नभई नहुने चिनी र तेलको मूल्य झनै बढेको छ । डेढ सय रुपैयाँ प्रतिलिटर पर्ने तेलको मूल्य एक वर्षमै झन्डै दोब्बर बढेर तीन सय हाराहारी पुगिसकेको छ । कतिपय आयातित सामग्रीको मूल्य सरकारले विदेशी तयारी खाद्य पदार्थमा कर बढाएसँगै बढेको छ । पसलेहरूले आफूखुसी मूल्य गरेकै कारण हुनुपर्छ— कुनै पसलमा १४० रुपैयाँमा पाइने सामान कुनैमा १६० रुपैयाँसम्म पर्छ । यस्तै, गाडी भाडादेखि मासुसम्मको भाउ पनि बढेको छ । बाढी–पहिरो जाँदा होस् या सडक अवरुद्ध हुँदा, तरकारी, फलफूललगायत खाद्यपदार्थको मूल्य यसै गरी बढ्ने गरेको छ । यसबाट सर्वसाधारण, गरिब, मजदुरहरू भने बिचल्लीमा पर्ने गरेका छन् ।
बजार अनुगमन सरकारले महिनामा कम्तीमा दुईचोटि गर्नुपर्छ । चाडबाडलक्षित मौसमी अनुगमनले मात्र बजार नियन्त्रणमा आउने देखिँदैन । आफ्नो क्षेत्रमा सर्वसाधारण तथा उपभोक्ता मारमा परेको स्थानीय सरकारहरूले टुलुटुलु हेरेर नबसी आफ्नो संवैधानिक अधिकारअनुसार बजार अनुगमन गर्ने हो भने यस्तो समस्या धेरै हदसम्म हट्न सक्छ । आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरूको सम्पूर्ण जानकारी लिनु र त्यसको समाधानतिर लाग्नु प्रत्येक जनप्रतिनिधिको पनि कर्तव्य हो ।