मध्य नेपाल

प्रश्नैप्रश्नको सँघारमा गैरआवासीय नेपाली अभियान

गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ र उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर शुरु भएको गैरआवासीय नेपाली संघले अहिले १०औं महाधिवेशनको नजिकै आउँदा धेरै उतारचढाव पार गरिसकेको छ ।

विश्वका ८० भन्दा बढी देशमा छरिएर रहेका लाखौं नेपालीको एकमात्र छाता संगठन एनआरएनएका गतिविधि पक्कै पनि नेपाल र विश्वका नेपालीको हितमा हुनुपर्दछ । तर पछिल्लो समय सतहमा देखिएका क्रियाकलाप, विभिन्न राष्ट्रिय समन्वय समिति तथा केन्द्रमै देखिएका विवादले आजसम्मका उपलब्धिहरूलाई अप्ठ्यारो  पारेको त छ नै, संस्थाको भविष्यलाई पनि अँध्यारोमा पार्ने हो कि भन्ने संशय उत्पन्न भएको छ । नेपाल बाहिर रहेर आफ्नो पेशा, अध्ययन, व्यवसाय गर्ने हामी नेपालीहरू नेपालको राजनीतिक अवस्था विकास र सामाजिक अवस्थालाई लिएर सधैं चिन्तित हुन्छन् ।  सामाजिक सञ्जालका भित्ताहरूमा निरन्तर आफ्नो असन्तुष्टि पोखिरहन्छन् । आज गैरआवासीय नेपाली संघका नाममा विश्वका समृद्ध देशका पार्क, सभा हल, होटलहरूमा हानाहान, कुटाकुट हुन्छ । एकले अर्कोको अस्तित्व स्वीकार्न नसकेर गुट, उपगुट बनाएर खुट्टा तानातान   गर्छन् । 

आज एनआरएनए विकृत भनिएका नेपाली राजनीतिक दलको भ्रातृ संगठन भन्दा कम छैन ।नेताको आशीर्वाद लिने र लम्पसारवादले सीमा नाघेको छ । संस्थामा चरम राजनीति घुसाइएको छ । गैरआवासीय नेपाली अभियान शुद्ध नेपालीको नभएर कांग्रेस, एमाले, माओवादीको भएको छ । अति राजनीतीकरणले नेपालमा नेपाली नै भेट्न गाह्रो परिरहेको बेलामा गैरआवासीय भए पनि हामी नेपाली हौं भन्नेलाई पनि कांग्रेस, माओवादी र एमाले बनाइदिएको छ । संस्था जे सुकै होस् सबैलाई चुनाव जित्नु छ, नेता बन्नु छ  गैरआवासीय नेपाली अभियान यत्तिका लागि हो र गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । एकाइसौं शताब्दीमा विश्वका समृद्ध मुलुकमा जीवन निर्वाह गर्ने हामी गैरआवासीय नेपालीले उच्च नैतिक व्यवहारले उदाहरण दिनुपर्नेमा उल्टो कुसंस्कृत राजनीतिक संस्कारको ऐना बन्नु दुर्भाग्यपूर्ण छ । अझै पनि यसरी नै अघि बढ्ने हो भने गैरआवासीय अभियानको डुंगा डुब्ने निश्चित देखिन्छ त्यसैले बेलैमा सोच्नु पर्ने कुर रहेको छ । 


TOP