समाजमा चलेका कुरीति र अन्धविश्वासविरुद्ध आवाज उठाउने शक्ति शिक्षाबाट पाइन्छ । तर समाजका गलत अभ्यासहरू समाज रूपान्तरणको बाधक बनिरहेकोप्रति अहिलेको शिक्षाले ध्यान दिन सकेको छैन ।जात व्यवस्थाभित्रको गहिरो सामाजिक विभेदका रूपमा जातीय छुवाछूत मौलाइरहेको छ र जातीय छुवाछूत समाज परिवर्तनको बाधक बनिरहेको छ । करिब ६० लाख जनसंख्या रहेको दलित समुदाय जातीय विभेदको सिकार बनिरहनु, पलपलमा जातीय विभेदका घटनाहरू उकालो लागिरहनु जात व्यवस्थाभित्रको कुरीति मात्रै नभएर समृद्ध समाजको बाधक पनि हो भन्नेबारे पाठ्यक्रम बनाउन सकिएको छैन ।
सामाजिक व्यवहार र विद्यालय तहको शिक्षाको तालमेल मिल्न सकेको छैन । विशेष गरी विद्यालय तहको शिक्षामा जात व्यवस्थाको पढाइ नहुनु र जातीय विभेदको कालो धब्बालाई नखोतलिनु आम दलित समुदायका लागि दुर्भाग्य नै बनिरहेको छ ।दलित र गैरदलित समुदायका बालबालिकाहरू सँगै खान्छन्, सँगै खेल्छन् । उनीहरूलाई को सानो जात र को ठूलो जात, कसले छोएको खान हुने र कसले छोएको खान नहुने भन्ने थाहा हुन्न । उनीहरूले सबै मानिसलाई समान देख्छन्, जातका आधारमा गरिने विभेदजन्य व्यवहारहरूको कुनै ख्याल हुन्न । तर विस्तारै उनीहरू जात व्यवस्थाभित्रका गलत अभ्यासहरूलाई निरन्तरता दिन उक्साउने पुरातनवादी सोचको चंगुलमा फस्दै जान्छन् । यही पक्षलाई विद्यालय तहको शिक्षाले समेट्न सकेको छैन । विद्यालय तहमा जात व्यवस्थाको गलत अभ्यासबारे पढाइ हुनुपर्छ भनी कहीँकतै छलफल भएको सुनिँदैन । बाहिरी संसारको विद्यालय तहको शिक्षा समयअनुसार परिमार्जित र परिष्कृत हुँदै कहाँ पुगिसक्यो,तर हाम्रो समाजमा भने केही हुन सकेको छैन ।
बालमैत्री विद्यालयका बालबालिकाले परिवारभन्दा पनि आफूलाई पढाउने शिक्षक–शिक्षिकालाई बढी विश्वास गर्छन् भन्छन् शिक्षा क्षेत्रका मनोविश्लेषकहरू । शिक्षक–शिक्षिकाले भनेका कुराप्रति विद्यार्थीहरू सोच्न बाध्य हुन्छन् । जातीय विभेदसम्बन्धी गलत प्रवृत्तिबारे विद्यालयमा सुन्न पाए विद्यार्थीहरूले त्यस्तो छुवाछूतलाई विस्तारै नकार्दै जान थाल्छन् । अनि मात्रै ढिलोचाँडो जातीय विभेदमुक्त समाज, जातीय विभेदमुक्त पुस्ता देखिन सक्छ ।