गायिका विष्णु माझीको 'चरी जेलैमा' बोलले गीतले यो वर्ष तीजमा निकै चर्चामा कमायो । युट्युबमा सार्वजनिक भएदेखि नै बजारमा गीतको चर्चा बढेको थियो । महिलाहरुको पीडा पोखिएको भन्दै कतिले गीतलाई यो वर्षकै उत्कृष्ट तीज गीतको रुपमा विश्लेषण गरेका छन् । यो गीतसँगै पुन: एकपटक विष्णु माझीको जीवनमाथि चर्चा/परिचर्चा भयो र गीत चर्चामा आएसँगै विष्णु माझीको निजी जीवनबारे चासो राख्ने पनि बढेका थिए ।
यतिखेर फेरि विष्णु चर्चामा रहेकी छिन् । तीजको गीतको चर्चा सेलाउन नपाउँदै दशैको नजिक पारेर सार्वजनिक गरेको गीतले उनको चर्चा चुलिएको हो । युट्युब च्यानल सपना म्युजिक इन्डस्ट्रिजबाट सार्वजनिक भएको गीतलाई २३ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् । गीतको बोल हो, 'दसैं-तिहार आइसक्यो' । ८ मिनेट ४० सेकेण्ड लामो गीतको भिडियोमा चाडपर्वमा कमाउन हिँडेका पतिको सम्झना गर्दै प्रतिक्षा गरिरहेकी पत्नीको कथा प्रस्तुत गरिएको छ ।
गीत गायिका माझीकै पति सुन्दरमणि अधिकारीले लेखेका हुन् । शम्भू चालिसेले खिचेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन र शिव बिकको कोरियोग्राफी रहेको छ र भिडियोमा कलाकार भने प्रिया विष्ट रहेकी छिन्।