रेबिज पुरानो रोग भए पनि यससम्बन्धी विभिन्न हल्लाका कारण मानिस डराइरहेको पाइन्छ । तथ्यको प्रचार र गलत हल्ला कम गर्न सके रेबिजको नियन्त्रण गर्न सकिन्छ । रेबिज रोकथामका लागि पशु र मानिस दुवैका लागि प्रभावकारी खोप उपलब्ध छ । पशु सेवा विभाग मातहतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा पशुको रेबिज खोप बर्सेनि डेढ लाख हाराहारीमा उत्पादन भैरहेको छ । जनशक्ति थपे यसलाई अझ बढाउन सकिन्छ । मानिसलाई लगाउने रेबिज खोप भने आयात गरिन्छ, तर सरकारले चाहे यो पनि नेपालमै उत्पादन गर्न सकिन्छ ।मानिसमा देखिनेमध्ये ९५ देखि ९९ प्रतिशतसम्म रेबिज बहुला कुकुरको टोकाइबाट सर्ने गर्छ । त्यसकारण घरपालुवा र भुस्याहा कुकुरहरूलाई वर्षको एकपटक रेबिज खोप लगाउन सके जोगिन सकिन्छ । कुकुर, बिरालो, स्याल, फ्याउरो आदिले टोकेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा गई खोप लगाउनु पर्छ । आफैंले पालेको वा खोप लगाएकै कुकुरले टोके पनि स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, अवस्थाको हेरी आवश्यकताअनुसार खोप दिने/नदिने उनीहरूले निर्णय गर्छन् ।
यदि बहुला कुकुर, बिरालो र जंगली जनावरले टोकेर रेबिजको लक्षण देखा पर्यो भने मृत्यु लगभग निश्चित छ, लक्षण देखा परेपछि खोपले पनि काम गर्दैन । तर, टोक्नासाथ पूरा मात्रा खोप लगाएमा बच्न सकिन्छ । रेबिजको मानिसमा देखिने प्रमुख लक्षण भनेकै पानीसँग डराउने हो । र्याल काढ्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, तनाव हुने, निल्न गाह्रो हुने, आक्रामक हुने, झम्टिने, बिस्तारै पक्षाघात हुने जस्ता लक्षण पनि देखिन्छन् ।रेबिज लागेपछि कुनै पशु निष्क्रिय हुन्छ त कुनै एकदमै आक्रामक, कसैमा पक्षाघात पनि देखिन्छ र केही दिनभित्र त्यो मर्छ ।रेबिजबाट हुने मृत्यु एकदमै हृदयविदारक हुने हुँदा यस्तो अवस्था आउन दिनु हुँदैन । रेबिजबाट धेरैजसो १५ वर्षमुनिका बालबालिका प्रभावित हुन्छन् किनभने उनीहरूले कुकुरले टोके पनि अभिभावकलाई भन्न डराउने गर्छन् । त्यसैले अभिभावकहरूले आफ्ना बच्चालाई कुकुरले टोकेमा खबर गर्न सिकाउनुपर्छ ।
२१ औं शताब्दीमा पनि रेबिजजस्तो रोगबाट मानिसहरू मर्नुपर्ने विडम्बनाको अन्त्य गर्नु जरुरी छ । यसका लागि पशु स्वास्थ्य र मानव स्वास्थ्यको समन्वयमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा एक स्वास्थ्य नीतिअनुसार काम गर्नुपर्छ ।