मध्य नेपाल

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ ।  त्यसमा प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्।एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झडपपछि पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै विज्ञप्ति जारी गर्दै कुटपिट घटनाको पुष्टिसमेत गरेका छन्। नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले स्थानीय प्रहरी समयमा नै पुगेकाले थप अप्रिय घटना हुनबाट जोगिएको बताएका छन्।  उनले भने, ‘घटनास्थलमा दुई भ्यान प्रहरी आएपछि हातपातमा संलग्न युवाहरू तितरवितर भएको पाइन्छ । एनआरएनका दुई पक्षका साथीहरूले नै प्रष्ट भन्नुहुन्छ प्रहरी नआएको भए त्यहाँ ठूलो दुर्घटना हुनसक्थ्यो।’

सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको छ भने अर्को समूहले चुनाव धाँधली भएकाले आफूहरूले वहिष्कार गरेको भन्दै समानान्तर समिति खडा गरेको छ।पोर्चुगलमा एनआरएन विवाद सल्टाउनुको सट्टा झन्झन् उग्र र जटिल बन्दै गएको पत्रकार छन्त्यालले बताएका छन्। 

दुई समानान्तर समितिहरू राजधानीको खुल्ला पार्कमा कुटाकुट गर्दै एनआरएनको बदनाम गरिरहेका बेला एनआरएन केन्द्र भने मौन देखिएको छ। आरोप-प्रत्यारोप हुँदै भौतिक आक्रमण र कुटपिटमा समेत उत्रिँदा पनि केन्द्रले विवाद सल्टाउने तर्फ ध्यान नदिएको पोर्चुगलबासी नेपाली समुदायले गुनासो गरेका छन्।



TOP