गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् ।उनले भनिन ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’
थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन् । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस पनि भनेकी छिन्। संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट नै महिला उपाध्यक्षमा चुनाव जितेकी थिइन् ।
आउँदो अक्टोबरमा हुने संघको दशौं महाधिवेशनमा कांग्रेस निकट ठानिएका आचार्य र थापा दुवै चुनावी मैदानमा उत्रिए एमाले निकटका उम्मेदवार डा. केसीलाई फाइदा पुग्ने गैरआवासीय नेपालीहरुको आँकलन छ । डा. केसी, आचार्य र थापाले उम्मेदवारी दिएमा एनआरएनको आगामी नेतृत्वका त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।