मध्य नेपाल

रंगमञ्चको बिस्तार सुरु हुँदै

डेढ वर्षयता अन्य क्षेत्रझैं कोरोना महामारीको चपेटामा परिरहेको रंगमञ्च अब बिस्तार हुन लागेको छ । जनजीवन अलि सामान्य बन्दै गएसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै नाटकघरका ढोका खुल्न थालेका छन् ।सामान्य अवस्थातर्फ फर्किने यो उत्साहले घरबाहिरको मनोरञ्जनबाट लामो समयदेखि परै रहेका नाटकपारखीहरूलाई मन बहलाउने राम्रो विकल्प दिनेछ साथै  कलाकारसहित रंगमञ्चसम्बद्ध ठूलो समूहले पनि अनिश्चितकालीन बेरोजगारीबाट पार पाउँदै जानेछन ।

लामो समयदेखि रंगमञ्चका गतिविधि ठप्प भइरहँदा सम्बद्ध व्यक्तिहरू मर्कामा परेका छन् । त्यसमाथि राज्यका  निकायहरूमा अन्यत्रजस्तै कला क्षेत्रलाई पनि राहत प्याकेज दिने  छाँट नदेखिए सँगै मञ्चको पर्दा उघ्रिन सुरु हुनु सुखद संकेत हो ।नाटकले, दर्शकको तत्काल प्रतिक्रिया पाउने कलाको यो स्वरूपले प्राण पाउने भनेकै दर्शकहरूबाट उठ्ने शुल्कबाट हो । त्यसका लागि पनि पहिले त नाटकको मञ्चन हुनुपर्‍यो । कोरोना महामारीका कारण त्यसैको सम्भावना नरहेपछि कलाकारलगायतको आम्दानीको सानै भए पनि स्रोत सुकेको छ र तत्काल भौतिक रूपमा मञ्चमा फर्किने सम्भावना नरहेपछि कलाकारहरूले नाट्य गतिविधिलाई भर्चुअल बनाउने कोसिस गरिरहेका छन् । 


TOP