मध्य नेपाल

त्रिविमा समकक्षताको सकस

मानव सभ्यताका विविध आयम र चरित्रबारे ज्ञान उत्पादन गर्ने सिलसिलामा विश्वविद्यालयहरूले थुप्रै सैद्धान्तिक र व्यावहारिक अभ्यास गर्दै आएका छन् । विश्वविद्यालयहरूमा एकै विषयमा केन्द्रित हुने विषयगत र एकभन्दा बढी विषयहरूको समायोजनमा तयार गरिएका अन्तरविषयगत अध्यापन गराइने विभागहरू हुन्छन् । बदलिँदो समाजका चरित्र र जटिलताहरूबारे विषयगतभन्दा अन्तरविषयगत अध्ययन–अनुसन्धान गर्ने संस्कृतिले विश्वभर बलियो प्रभाव जमाउँदै गएको छ ।

नेपालका सन्दर्भमा विदेशी तथा नेपालका अन्य विश्वविद्यालयबाट आर्जन गरेका विषयगत र अन्तरविषयगत दुवै प्रकारका डिग्रीहरूको त्रिभुवन विश्वविद्यालयबाट स्तर निर्धारण गर्ने प्रावधान रहेको छ । त्रिवि सेवा आयोगले स्थायी नियुक्तिका लागि दरखास्त आवेदन गर्दा त्रिविबाहेक अन्य विश्वविद्यालयबाट हासिल गरेका डिग्रीहरूको स्तर निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपि माग्ने चलन छ ।नयाँ विषय छ र अन्तरविषयगत प्रणालीमा अध्ययन गरेर डिग्री लिएको छ भने त्रिविसँग भएको अवधारणात्मक संकुचनका कारण यावत् अप्ठ्यारा झेल्नुपर्नी देखिन्छ । यस प्रक्रियामा त्रिविमा समकक्षताको सकसबारे पहिल्यैदेखि अवगत अन्तरविषयगत डिग्रीवाला आवेदकहरू सम्बन्धित विभाग वा विषय समितिमा औपचारिक र अनौपचारिक तरिकाले प्रभाव जमाउन सफल भई आफूले खोजेअनुसार विषय खुलाएर समकक्षताको प्रमाणपत्र लिने गर्छन् ।

समकक्षताको सवालमा त्रिविमा निहित यस प्रकारको केन्द्रीकृत र एकलौटी अधिकारले एकातिर अन्य विश्वविद्यालयको संस्थागत गरिमाको सवालमा बराबरीको हैसियत नै स्वीकार गरिरहेको छैन भने अर्कातर्फ, त्रिविले अन्य विश्वविद्यालयका शैक्षिक डिग्रीहरूको समकक्षता दिने ठेक्का लिने तर आफैंभित्र भने वैज्ञानिक, निष्पक्ष र वस्तुनिष्ठ प्रणालीको विकास गर्न नसकेको स्थिति देखिएको छ ।यस्तो अभ्यासले त्रिविका बेथितिहरू पनि अन्त हुन सक्ने र समकक्षताको अनावश्यक बोझबाट हल्का भएर त्रिविलाई गुणस्तरीय अध्ययन–अनुसन्धानमा केन्द्रित हुने बाटो खुल्नेछ । नेपालको उच्च शिक्षा तथा विश्वविद्यालयभित्रको नीतिगत सुधारका लागि समकक्षता प्रणालीमा व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको देखिन्छ ।  


TOP