हाम्रा घरेलु रणनीतिहरू बढी रोजगारी सृजना गर्ने राजनीतिक नारा पूरा गर्न श्रम बजारका मानव तस्कर र तिनका दलाललाई सहज हुनेतिर बढी ढल्केका देखिन्छन् । फलस्वरूप परम्परागत रणनीतिहरूमा धेरै फेरबदल भएका छन् ।तर जुनसुकै पक्ष हावी भए पनि श्रम आप्रवाससँगको खाकाभित्र गरिने र गराइने एउटा जटिल सवाल भनेको मानव बेचबिखन हो जुन आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणमा वर्गीय समस्या हो भने प्रभावित व्यक्तिको दृष्टिकोणमा मानवअधिकारको मुद्दा हो । कुन वर्ग अनि सामाजिक, सास्कृंतिक र लैंगिक समूहका मानिस कहाँ, केका लागि कसबाट, कुन माध्यमबाट कसरी बेचिन्छन् भन्ने कुरा त तथ्यांक केलाउँदा नै प्रस्ट हुन्छ । आफूवरिपरि जीविकोपार्जनका सम्भावनाहरू न्यून हुँदै गएपछि व्यक्ति रोजगारीको खोजीमा घर, गाउँ समाज र देशै छाडेर हिँड्ने गर्छन् ।
मानब बेचबिखन स्वतः हुने नभई आप्रवासनको खाकाभित्र फस्टाएको एउटा आयाम हो जसले सामाजिक संरचना, राजनीतिक–आर्थिक प्रणालीको परिधिभित्र संरक्षित भई मानवस्रोतलाई नाफामुखी श्रम बजारमा लिलाम गर्दिएको छ । लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने त अधिकांश महिलाको आप्रवासनको निर्णयमा घर, परिवार र समाजमा विद्यमान लैंगिक हिंसा, हेलाहोचोले खपेर बसेका छन् । खास गरी विकासोन्मुख भनिएका मुलुकका महिलाहरूको श्रम आप्रवासनका प्रमुख कारण उनीहरूको सामाजिक परिवेश, सांस्कृतिक मूल्यमान्यताका नाममा थोपरिएका विभेद, परिवारभित्र झाँगिएको तर लुकाइएको यौन हिंसा र आर्थिक असमानता बढी हुन्छन ।